Monday, September 26, 2011

''गजल''

सुवास श्रेष्ठ

तिमीलाई अँध्यारो यो रातको कथा के सुनाउनु
आफ्ना बाटै भईरहने घातको कथा के सुनाउनु।

बर्षौ पछि तिमीलाई आफ्नो सामू पाउँदा पनि
दु:खै दु:ख भरिएको खातको कथा के सुनाउनु।

यो जिन्दगी उजाड भई म आफै नै सुक्न लाग्दा
खडेरीमा ओईली झर्ने पातको कथा के सुनाउनु।

सोचेको थेँ यो संसारमा मान्छे सबै उस्तै हुन्छन्
मान्छे उस्तै तर फरक जातको कथा के सुनाउनु।

आफन्त नि त्यस्तै रैछ दु:ख पर्दा टाढा भाग्ने
हुँदा मात्रै आफ्नो सोच्ने साथको कथा के सुनाउनु।

जति राम्रा कुरा गरोस् बगलीमा छुरा राख्छन्
मुखमा मात्रै मीठा मीठा बातको कथा के सुनाउनु।

तिमी आफै थाहा पाउँछौ यो समाजका कुराहरु
पछि आफ्नै माथमा पर्ने लातको कथा के सुनाउनु।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।