मुक्तकहरु

केही समय पहिले देखि मेरो फेसबुक स्टाटसमा लेखेका मुक्तकहरुको सङ्गालो।
(१)
कहिलेकाही यो जिन्दगी बन्छ स्थिर ताल जस्तै
उर्लिएर भाग्छ कहिले समुन्द्री त्यो छाल जस्तै।
साथी सङ्गी भेट हुदाँ कति सुन्दर लाग्छ जीवन,
एक्लो हुदाँ लाग्छ कहिले महासंकट काल जस्तै।

(२)
जिन्दगीमा साथीहरु कति आए कति गए
कति साथी साथैमा छन् कति डाँडापारी भए।
कोही लागे धनको बाटो कोही साथी बनको बाटो
जन्मदैमा हुन्छ अरे आफ्नो आफ्नो बाटो तय।

(३)
तिमीलाई दु:ख पर्दा तिम्रो साथमा रुन्छु भन्थ्यौ
आँसु बनि तिम्रो सारा दु:ख पीडा धुन्छु भन्थ्यौ।
जिन्दगीको अन्त्यसम्म पाईला पाईला साथ दिई
तिमी मेरो मदन भए म त मुना हुन्छु भन्थ्यौ।।

(४)
माया साट्ने टुट्न हैन मायाजाल बुन्नलाई हो
यो धर्तीमा जन्मिएको तिमीलाई चुन्नलाई हो।
माली बनि पानी हाली रङ्गीचङ्गी फूलबारीमा
फुलाएका फूलका थुङ्गा बरमाला उन्नलाई हो।

(५)
सक्ने भए आकाशबाट आजै पानी पार्न हुन्थ्यो
पानी सँगै मिसाएर यि आँसुलाई झार्न हुन्थ्यो।
आँखाभित्र आँसु लुकाई कहिलेसम्म बस्नु मैले
आँसुसँगै मनका दु:ख पीडा टाढा सार्न हुन्थ्यो।

(६)
सक्छौ भने यो मायाको कुनै यौटा सार लगाउ
हैन भने हाम्रो बिचमा काँडेतारको बार लगाउ।
अल्झाएर राख्छौ किन सधै भरि बिच बाटोमा
हार भएनि स्विकार्छु म तर छिट्टै पार लगाउ।

(७)
हेर त्यो फूल तिमीलाई कति माया गर्छु भन्छ
भेट्न आउँन हाँगाबाट आफै भुईमा झर्छु भन्छ।
संसार भरि खुसी छर्दे फक्रिएको फूल पनि
तिमी बिना बाँच्नुभन्दा ओईलाएर मर्छु भन्छ।

(८)
हामी हिड्दा बाटो छेक्ने तारहरु तोड्दै जाउँला,
यो मायाको फूलबारीका झारहरु गोड्दै जाउँला।
जति दु:ख परे पनि हाम्रो साथ छुट्नु हुन्न,
कठिन भए जिन्दगीका धारहरु मोड्दै जाउँला।

(९)
थाहा छैन आजसम्म कसैको मन जलाएको
फेरी कसले मेरो बारे अनेक हल्ला चलाएको।
सबैलाई साथी सम्झी हाँसी खुसी बोल्दापनि
कसले होला बाटो छेक्न रुख काटी ढलाएको।

(१०)
धर्ती माटो यौटै हाम्रो तर शहर फरक फरक
हिड्ने बाटो यौटै थियो तर रहर फरक फरक।
लेखेको छु गजलहरु तिम्ले जस्तै मैले पनि
कथा व्यथा यौटै रैछ तर बहर फरक फरक।

(११)
जिन्दगीको अर्थ खोज्दै घुमिसकेँ संसार सारा
जहाँ जान्छु देख्छु त्यहाँ सबैजना आफ्नै पारा
आफ्नै अघि ढलेका ति लाश देख्न छाडी सके
कुरा गर्छन् धर्ती माटो आकाशको चन्द्र तारा।

(१२)
तिम्रो साथ पाए हुन्थ्यो उकालोमा चढ्न लाग्दा
समाउने हात हुने थियो चिप्लिएर लड्न लाग्दा।
खुसीयाली हुन्थ्यो जीवन सहयात्री तिमी पाए
जिन्दगीको गोरेटोमा एक्लै अघि बढ्न लाग्दा।

(१३)
पानी माथि तेल हालेँ घुलाउने पो कसरी हो
नघुलिदै अलग भए भुलाउने पो कसरी हो।
एक्लो भई तड्पिएर लक्ष्यबिहिन भए यात्रा
जिन्दगीका बाटोहरु खुलाउने पो कसरी हो।

(१४)
याद आउँदा दुख्ने मुटु चोट लाग्दा कस्तो होला
झनै टुक्रा टुक्रा पारी टाढा भाग्दा कस्तो होला।
आफूलाई भन्दा पनि धेरै माया गरेँ जसलाई
उनैले नै टाढा जाने वचन माग्दा कस्तो होला।

(१५)
बोल्न पनि नखोज्नेले आफ्नै सम्झी तँ भन्दामा
तिमी बिना बाँच्नलाई सक्दिन कि म भन्दामा।
भगवानले माथिबाट हेर्दै छन् कि जस्तो लाग्यो
व्यार्थ लाग्थ्यो कुराहरु भगवानपनि छ भन्दामा।

(१६)
धेरै कुरा सुन्थे तर वास्तविकता अर्कै रैछ
बाहिरबाट स्वर्ग जस्तो भित्र हेर्दा नर्कै रैछ।
आफ्नै दाजु भाई बिचमा काटमार गर्दै अनि
दोष दिन्छन् पराईलाई झगडा त घर्कै रैछ।

(१७)
आफै हिड्ने बाटोभरि आफै काँडा छर्छौ किन
यौटा गल्ती लुकाउन सयौ गल्ती गर्छौ किन।
मान्छेनै हो तिमी पनि गल्ती हुन्छ कुनै बेला
त्यति कोमल मन भित्र निराशाले भर्छौ किन।

(१८)
आफ्नो भाग्य आफै लेख्न सक्ने भए देखि
सबैभन्दा पहिले तिम्रो नाम राख्थे लेखी।
जिन्दगीमा सधै भरि तिम्रो साथमा बस्दै
हाम्रो जोडी छुटाउनेको झार्ने थिएँ सेखी।।

(१९)
चन्द्रमा हेर्दै सोच्दछु सधै हाम्रो यो माया प्रीतिको कुरा
पर्खेर बस्दै कल्पना गर्छु त्यो तिम्रो घर फिर्तीको कुरा।
मनमनै आफै चिन्तित हुन्छु सम्पर्क नभई वर्षदिन बित्दा
झस्किन्छु कैले सम्झेर एक्लै त्यो मुनामदन किर्तीको कुरा।

(२०)
बिना वर्षा आकाशमा कालो बादल फाटेझै भो
सत्यकुरा गर्दा पनि तिम्लाई मैले ढाटेझै भो।
तिम्रो यादमा तड्पिएर तिम्रै कुरा गर्दा पनि
तिमीलाई त पर्दापछि आफ्नै कुरा काटेझै भो।

(२१)
फेवातालको पानी मुनी माछापुच्छ्रे छाँया हेर
संसार भुलि आँखा लगाउ त्यतैतिर एक फेर।
कति सुन्दर सेतो हिमाल त्यसैमाथि सेती नदी
जमिन मुनि लुकी लुकी बगेको छ जति खेर।

(२२)
भेट्न आउँछु भन्दै थिएँ यौटा सानो काम पर्यो,
काम सकी फर्की आउँदा रोडमा गाडी जाम पर्यो।
कहिले काही यस्तै हुन्छ रिसाएर बस्छौ किन,
मलाई कुर्ने एक एक पलको भन कति दाम पर्यो।

(२३)
अझ धेरै बाँकीनै छ जिन्दगीको यात्रा गर्न
बाँकीनै छ संसार भरि शान्तिको ज्योति छर्न।
रोग भोकमा तड्पिएर बाँचेका छन् कति यहाँ
बँचाउनु छ उनका जीवन बिनाकालबाट मर्न।

(२४)
बिना जङ्गल चट्टानको फूस्रो डाँडा भए तिमी
कस्को आँखा लाग्ने थियो घोच्ने काँडा भए तिमी।
भन्छौ तिमी सबको आँखा आफैतिर हुन्छ किन
कसले छोड्छ बाटो हिड्दा गति छाडा भए तिमी।

(२५)
हुने भए तिमी सधै यो संसारमा अजम्बरी
दिने थिएँ यो जीवननै तिम्रो लागि सधैभरि।
कहिल्यैपनि नचुडोस् है योमायाको डोरी हाम्रो
सधै भरि तिम्लाई माया गर्न पाउँ यसैगरी।

(२६)
सुवाश छर्ने फूल तिमी भुई झरेको थुङ्गा मत,
थाहा छैन कहाँ पुग्छु बिना माझी डुङ्गा मत ।
देख्दा एउटै भए पनि हाम्रो स्तर फरक रैछ
मुर्ती बनाई पुज्छन् तिम्लाई बगरको ढुङ्गा मत।

(२७)
माछा जस्तै पौडिनलाई कुनै कूलो छैन यहाँ
लुकामारी खेल्नलाई लुक्ने दूलो छैन यहाँ ।
वर्षौ भयो हाम्रो माया आलोकाँचो लाग्छ अझै
आगो बाली पकाउनलाई कुनै चूलो छैन यहाँ।

(२८)
जहाँ टेक्यो त्यही पाईला भासिएर जान्छ किन,
नाता जोड्छु भन्दा भन्दा नासिएर जान्छ किन।
तिम्रो मनको बगैचामा हरा भरा पार्छु भन्दा,
खडेरीमा ओईलिए झै मासिएर जान्छ किन।

(२९)
साथमा बाँकी आँसु रह्यो हाँसो डाँडापारी भयो
तिमी सँगै खेल्ने मैदान आज काँडाघारी भयो।
सँगै जिउँने वाचा कसम बिचमै छुटी गएपछि
हाम्रो माया वालापनमा खेल्ने लुकामारी भयो।

(३०)
नियतीले छले पछि कसको के नै लाग्ने रैछ
आँसु आफ्नो साथ तर हाँसो टाढा भाग्ने रैछ।
जीवन भन्नु यस्तै होकी कैले आँसु कैले हाँसो
आँसु धेरै भए पछि जीवन त्यसै थाक्ने रैछ।

(३१)
यो संसारमा जन्मलिनु गल्ती भोकी जस्तो लाग्छ
बजारको सामान भन्दा जिन्दगी पो सस्तो लाग्छ।
सामान जस्तै माया पनि बिक्री हुन थाले पछि
आजकालत मायापनि मलाई कस्तो कस्तो लाग्छ।

(३२)
खेल खेल्दा भन्छन् सबै मैले बाजी मार्नै पर्छ
यौटा जित्न अर्कोले त जसरी नि हार्नै पर्छ।
हार जीत स्वभाबिक हो संघर्षमा लागेपछि
निस्कर्षमा जे आए नि निडर भई टार्नै पर्छ।

(३३)
भूकम्पमा भत्किएका उस्तै नै छन् घरहरु
उस्तै नै छ सबका मनमा आशंका र डरहरु।
एकैछिनमा जिन्दगीका सारा खुसी लुटिगए
संगालेका थिए होलान् मनमा कति रहरहरु।

(३४)
हाँस्दा सँगै हाँस्दै अनि रुँदा आँसु पुछ्दा पनि
किन मलाई दोष दिन्छौ सबैकुरा बुझ्दा पनि।
बिना छाता हिड्छौ आफै बर्षायाम यो बेलामा
गल्ती मेरै हुन्छ सायद झरी परी रुझ्दा पनि।

(३५)
बिना छाता हिड्छौ आफै रिस गर्छौ झरीसँग
भुईमा बसी डाहा गर्छौ आकाशकी चरीसँग।
चारै तिर सेरोफेरो सबै मेरो भन्नेलाई
के भन्नु खै अब मैले तिमी जस्ती परीसँग।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।