Monday, December 12, 2011

''गजल''

सुवास श्रेष्ठ

माया पनि तराजुमा जोख भन्छौ तिमीले त
समय र सिमा पनि तोक भन्छौ तिमीले त।

सुख दु:ख हाँसो खुसी सँगै बाँड्नु पर्छ भन्दा
दु:ख जति सबै आफै बोक भन्छौ तिमीले त।

साँचो माया मुखमा हैन मनमा हुने गर्छ भन्दा
यस्ता कुरा मन भित्रै रोक भन्छौ तिमीले त।

जिन्दगीभर तिमीलाई साथ दिन्छु भन्दापनि
मलाई हैन अर्कै सँग खोक भन्छौ तिमीले त।

माया गर्ने मायालुको साक्षी बस्ने चौतारीलाई
पागलहरु जम्मा हुने चोक भन्छौ तिमीले त।

फूलबारीमा रमाएका जोडीहरु देख्दा पनि
त्यो त मात्र जवानीको भोक भन्छौ तिमीले त।

फेरियो रे आजकाल त यो मायाको परिभाषा
एक्लै बसी प्रेम कथा घोक भन्छौ तिमीले त।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।