Saturday, June 26, 2010

"आफ्नो अनुभव"

आफुलाई जन्म दिने आमा र आफ्नो जन्मभुमी स्वर्ग भन्दा पनि प्यारो हुन्छ, सायद यसमा कसैको पनि दुई मत नहोला । आखिर सत्य पनि यहि हो । जसले १० महिना गर्भमा राखेर यस धर्तीमा जन्म दिए हुर्काए बढाए अनि जुन धर्तीमा टेकेर पाईला अघि बढाए, हामीले आफ्नो पहिचान बनाउन सफल भयौ , जुन कुरा सबै भन्दा प्यारो लाग्नु कुनै अस्वाभाविक पनि होईन। तर बिडम्बना कति मान्छेहरु आफ्नो जिन्दगीको सुखको खोजीमा आफ्नै अस्तित्व भुलेको पनि थाहा हुदैन ।आजको एक्काईसौ शताब्दीमा यो सारा संसार एउटा सानो गाउँ जस्तै हुन पुगेको छ। पहिले हिडेर महिना वर्षौ सम्म पुग्न नसकिने ठाउँ अहिले क्षण भरमा पुग्न सकिन्छ। जसले गर्दा हामी एक ठाउँको मानिस विश्वको हरेक कुना कुनामा छरिएर रहेका छौ । हामी आफ्नो जिन्दगीमा आइपर्ने विभिन्न समस्याको समाधान सँगै उज्ज्वल भविष्यको मिठो कल्पना बोकेर संसारको कुना कुना सम्म भौतारी रहेका हुन्छन। त्यसको मतलब अवसरको खोजीमा आफ्नो सारा अस्तित्व नै गुमाउनु पर्छ भन्ने होईन । यस्तै जिन्दगीमा आइपर्ने विभिन्न समस्याको समाधान सँगै उज्ज्वल भविष्यको मिठो कल्पना बोकेर आज आफ्नो सारा घर परिवार साथी भाई अनि आफ्नो जन्मभुमी नेपाललाई छोडेर म पनि यस कतारको मरुभूमिमा कार्यरत छु ।यो हामी नेपालीहरुको रहर मात्रै नभई बाध्यता पनि हो । यसै सिलसिलामा धेरै नेपाली साथीहरु सँग भेट पनि भएको छु, कति साथीहरु ईन्टरनेट मार्फत भेट भएका छन् भने कति साथीहरु प्रत्यक्ष भेट भएका छन्।जब नयाँ नयाँ साथीहरु सँग शुरुमा भेट हुन्छ पहिले त आफ्नो आफ्नो परिचय बाट नै शुरु हुन्छ! तर कति नेपाली साथीहरु आफ्नो वास्तविक परिचय दिन हिच्किचांउछन् । विदेशको आफ्नो अनुभवमा, कति नेपाली साथीहरु आफुलाई नेपाली भन्न नै हिच्किचाईरहेको पनि देखेको छु । ईन्टरनेटमा भेटेका साथीहरु त धेरै देखेको छु जसले आफ्नो वास्तविकता लुकाउँछन्, त्यो भनेको आफ्नो पहिचान लुकाउनु हो, आफ्नो जन्मभुमी प्रति घृणा गर्नु हो, अपमान गर्नु हो। 

                           जुन व्यक्ति आफ्नो पहिचान बनाउन अवसरको खोजीमा आफ्नो सारा घर परिवार जन्मभुमी छोडेर एक्लै टाढा भौतारीरहेका हुन्छ, त्यहिँ एउटा व्यक्ति आफ्नै नेपाली साथीभाई सँग वास्तविकता लुकाईरहेका हुन्छन। पहिचानको खोजीमा आफ्नै पहिचान भुलिरहेका हुन्छन।आखिर किन र के का लागी ? यस्ता कुराहरु विदेशमा बस्ने नेपाली साथीहरुमा मात्रै होईन नेपालमा रहेका साथीहरुमा पनि धेरै देखेको छु। जो आफ्नो गाउँ घर छाडेर शहरी ईलाकामा अवसरको खोजीमा बसेका छन्। जुन ठाउँमा जन्मे हुर्के जसले जीवन दियो, बाँच्न सिकायो, संघर्ष गर्न सिकायो । अनि आफ्नो लक्ष्य प्राप्तिको लागी आफ्नो गाउँ घर छोडेर आफ्नो पैतालाको गन्तव्य भेटाउने अभिलाषाले अघि बढछन् । जब पुग्छन आफ्नो लक्ष्यमा त्यस पश्चात उसले विगतका कुराहरु सबै बिर्सन्छ अनि हिच्किचाउछन् आफ्नो जन्मभुमी प्रतिको वास्तविकता बताउन, जहाँको माटो, हावापानी उसको रगतको कण कणमा मिसिएको हुन्छ । हामीले जति यस्ता कुराहरु लुकाउन खोजे पनि आखिर वास्तविक तितो सत्य त यहि हो । नेपालमा जन्मिदैमा मात्रै नेपाली भएकोमा गर्व गर्नु त्यो सबै भन्दा ठूलो भुल हुनेछ। जो देश बाहिर हुदाँ नेपाली हुँ भन्न हिचकिचाउने, नेपाल प्रति घृणाको दृष्टिकोणले हेर्ने अनि नेपाल फर्के पछि त्यहिँ व्यक्ति गर्वका साथ नेपाली हुँ भन्दै आफ्नो हक र अधिकारको कुरा गर्ने त्यस्ता व्यक्ति नेपालमा जन्मेकाले वा नेपाली आमा बाबु भएको आधारमा नेपाली भन्नत सक्ला तर कहिल्यै सच्चा नेपाली नागरिक हुन सक्दैन। यदि सच्चा नेपाली हो भने संसारको जुनसुकै ठाउँमा रहे पनि गौरवका साथ भन्न सक्नु पर्छ, जय नेपाल, जय जन्मभुमी।

सुवाश श्रेष्ठ, दोहा कतार

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।