Wednesday, November 24, 2010

''गजल''

आफै माली आफै फूलको डाली भाँच्न थालेका छन् 
काँडाहरु जम्मा गरी फूल बाहिर फालेका छन् ।

आफै तर्ने खोला माथि खस्छ भन्ने जान्दा जान्दै
जानी जानी बालुवाको पुल किन हालेका छन्।

लोभले गर्दा हेर मान्छे कस्तो सम्म हुदाँ रैछन् 
लोभै लोभमा सुन भन्दै पित्तल पनि गालेका छन्।

चार जात छत्तिस वर्ण फूलबारी हो भन्थे पहिले 
अहिले कोही माओवादी कोही काँग्रेस मालेका छन्।

हामी पनि उस्तै हौ कि खै कसलाई दोष लाउनु
दुध खुवाउदै आफैलाई डस्ने साँप पालेका छन् ।

सोझा सिधा जनतालाई गार्हो भयो बाँच्न पनि 
सबै जना सोझो रुखनै छानी छानी ढालेका छन्।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।