Monday, October 3, 2011

कथा

किरण र सुमन यौटै गाउँमा जन्मे हुर्केका अनि बाल्यकाल देखि स्कूल जीवन हुदै कलेजसम्म पनि एकदम मिल्ने साथी। उनिहरुको समान उमेर भएको कारणले पनि होला दुबैजना जहाँ गएपनि जे गरेपनि सँगै हुने गर्दथ्यो। उनिहरु दुई बिचको सबै कुराहरु समान भएपनि पढाईमा भने किरण सुमन भन्दा अब्बल मानिन्थ्यो। किरण क्लासमा सधै राम्रै अङ्क ल्याएर पास हुन्थ्यो भने सुमन जेनतेन पास हुदै कलेज यात्रासम्म पनि उनिहरुको साथ भने छुटेनन्। समयको परिवर्तन सँगै किरण नयाँ नयाँ कुराहरु जान्न बुझ्नमा बढी रुची राख्न थाल्यो भने सुमन बिलासित जीवनप्रति बढी आकर्षित हुन थाल्यो। उनिहरुका बिचमा देखा परेका यस्ता असमान रुचीको बाबजुद पनि दुई बिचको मित्रतामा भने कुनै असर परेको थिएन। यसरी नै उनिहरुको कलेज जीवन चलिरहेको थियो। तर देशमा मडारिरहेको अशान्तिको कालो बादलले बिस्तारै उनिहरुलाई पनि छोप्न थाल्यो। देशको अशान्ति बेरोजगार अनि घरको आर्थिक कमजोरीको कारणले उनिहरु दुबैजना पढाईलाई बिचैमा बिट मार्दै बिदेसिने कुरा गर्न थाले र एकदिन त्यस कुरामा दुबैजना सहमत पनि भए।

आज भोलि गर्दै एकदिन उनिहरु दुबैजना काठमाण्डौबाट दुबईको लागि प्रस्थान भयो। त्यहाँ पुगेपछि उनिहरु यौटा ईलेक्ट्रोनिक कम्पनीमा हेल्परको रुपमा काम गर्न थाले। धेरै पैसा कमाउन नसकेपनि आफ्नो कमाई र कामप्रति सन्तुष्ट नै थिए उनिहरु। सुमन जसरी हुन्छ बढी पैसा कमाउन चाहन्थ्यो, त्यसैले ऊ आफ्नो ड्युटी सकेपछि पनि पार्ट टाईमको रुपमा यताउता काम गर्न थाले त्यसबाट उसको कमाई पनि राम्रै हुन थाल्यो। तर किरण काम भन्दापनि त्यहाँ भएका ईलेक्ट्रोनिक कामको बारेमा नयाँ नयाँ कुराहरु सिक्न चाहन्थ्यो र ड्युटी समयपछि पनि त्यसै कामको बारेमा नयाँ नयाँ कुराहरु सिक्न थाल्यो किरण। त्यसैले उसले बाहिर पार्ट टाईम कामहरुको बारेमा त्यति ध्यान दिएन। जसले गर्दा उनिहरु सँगै आएर सँगै काम गर्दा पनि दुई बिचको कमाईमा धेरै अन्तर आउन थाल्यो। गाउँघरमा किरणको बारेमा नकारात्मक कुराहरु गर्न थाले। सगै गएका सुमनले यति पैसा कमाईसक्यो तर किरण जस्तो गएको त्यस्तै छ अहिलेसम्म पनि। पढाईमा मात्रै राम्रो भएर पैसा कमाउन नसकिदो रहेछ, पैसा कमाउन दिमाग हैन मेहेनत गर्नुपर्छ यस्तै यस्तै कुराहरु गाउँभरि सुनिन थाल्यो। गाउँमा आफ्ना बारेमा यस्ता नकारात्मक कुराहरु सुन्दा सुन्दैपनि किरणले हिम्मत हारेन र आफ्नो उदेश्यबाट विचलित नभई निरन्तर अगाडि बढिरहे।

यस्तै दिनहरु बित्ने क्रममा कति छिटो उनिहरुको दुबईको बसाई पनि तीन बर्ष पूरा भएछ। तीन बर्षपछि उनिहरु सँगै नेपाल फर्किए। सँगै बिदेस गए सँगै फर्किए साथमा सुमनले मनग्य पैसा लिएर फर्किए भने किरणले आफ्नो हातमा सिप र ज्ञान लिएर फर्किए। मनग्य पैसाको अगाडि गाउँमा सुमनको मान सम्मान हुन थाल्यो, गाउँ घर परिवारको मान सम्मान देखेर सुमन पनि आफूले ठूलै युद्ध जितेर आए जस्तै अभिमान पाल्न थाले मनभरि। सुमनको यस्तै अहमकारले उनिहरु दुई बिचको मित्रताको सम्बन्धमा पनि दरार आउन थाल्यो। तर उता किरणको भने बिदेसबाट फर्केपछि पनि घरको आर्थिक स्थितीमा खासै अन्तर आएन। बिदेसबाट फर्केपछि साथमा रहेको थोरै पैसा र बिदेशमा सिकेको सिपको प्रयोग गरेर त्यही गाउँमा आफ्नो सानोतिनो ईलेक्ट्रोनिक व्यवसाय संचालन गर्न थाले। तर पहिले जस्तै अशान्तिको मार, सधै बन्द हड्ताल, लोडसेडिङ्ग चारैतिर अभावको कारणले गर्दा किरणको त्यो व्यवसायबाट पनि खासै राम्रो हुन सकेन। त्यसको बाबजुद पनि उसले हरेस नखाई रात दिन मेहनत गरिरहे। जसको फलस्वरुप बिस्तारै उसको व्यवसाय फस्टाउँदै जान थाल्यो। आज किरणले त्यसै व्यवसायलाई बढाउँदै अन्य ठाउँमा पनि बिस्तार गर्दैछ। सयौ कामदारहरुले अहिले उसको ईलेक्ट्रोनिक पसलहरुमा रोजगार पाईरहेका छन्। सुनिन्छ, उता सुमन भने आफ्नै अहमताले केही वर्ष बिदेशमा कमाएको पैसा सकिदै गएपछि यो दशै तिहार मनाएर फेरी बिदेसिने शुरमा मेन पावरको ढोका चाहर्दै छन् रे।

सुवास श्रेष्ठ गोरखा।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।