Wednesday, December 28, 2011

''गजल''

सुबास श्रेष्ठ

साँचो माया कस्तो हुन्छ टुटेपछि थाहा पाएँ
बल्ल आज उनको साथ छुटेपछि थाहा पाएँ।

हाँस्दै खेल्दै रमाउँदै उनकै हात समाउँदै थेँ
सपना पो रैछ त्यो त उठेपछि थाहा पाएँ।

विछोडमा आँसुझारी मान्छे किन रुन्छ भन्थेँ
बिनाकारण आफ्नै माया लुटेपछि थाहा पाएँ।

Monday, December 26, 2011

''गजल''

सुबास श्रेष्ठ

तिम्रो हाँसो खुसी देख्न आफ्नै खुसी मारीदिएँ
गाउँ समाज घरपरिवार सबको कुरा टारीदिएँ।

माया भन्नु तिम्रो लागि खेल जस्तै भएपनि
सधै भरि मैले तिम्रो कुरा माथि पारीदिएँ।

खेल खेल्दा कुनै यौटा निष्कर्ष त आउनै थियो
त्यसको सबै जिम्मेदारी तिमी तिरै सारीदिएँ।

Saturday, December 24, 2011

''गजल''

सुबास श्रेष्ठ

दुबै आगो आगो भए जल्न सक्छ यो जिन्दगी
पानी पानी भए पनि गल्न सक्छ यो जिन्दगी।

त्यसैले त एउटा आगो अर्को पानी बन्नु पर्छ
अनि मात्रै राम्रोसँग चल्न सक्छ यो जिन्दगी।

सधै भरि एक आपसमा रिस राग पाल्न थाले
सोचेभन्दा अगाडिनै ढल्न सक्छ यो जिन्दगी।

''गजल''

सुबास श्रेष्ठ

घायलको तरही मुसायरा भाग-२९

मैले केही चुन्न पर्दा तिम्रै माया चुन्छु नि म
जुनी जुनी नछुटिने मायाजाल बुन्छु नि म।

नयाँ अनि हाम्रो यौटा छुट्टै संसार बनाएर
हाँस्दा तिमी सँगै हाँस्छु रुँदा सँगै रुन्छु नि म।

हाम्रो बिचमा छेक्ने अग्लो पहाड नै आएपनि
तिम्रो बोली छातीभित्र ढुक्ढुकीमा सुन्छु नि म।

''गजल''

सुबास श्रेष्ठ

हामी हिड्दा बाटो छेक्ने तारहरु तोड्दै जाउँला
यो मायाको फूलबारीका झारहरु गोड्दै जाउँला।

दु:ख कष्ट जे परे पनि हाम्रो साथ छुट्नु हुन्न
कठिन भए जिन्दगीका धारहरु मोड्दै जाउँला।

घाम छाँया सुख दुःख जे आए नि साथै हुँदा
सुख साँची दुःखका ती सारहरु छोड्दै जाउँला।

''गजल''

सुबास श्रेष्ठ


त्यो फूलले तिमीलाई कति माया गर्छु भन्छ
बोट छोडी बरु आजै तिम्रै दिलमा सर्छु भन्छ।

तिमी बिना एक्लो भई तड्पिएर बाँच्नु पर्दा
भेट्न आउँन हाँगाबाट आफै भुईमा झर्छु भन्छ।

आफ्नो मन मुटु सबै रित्याएर भए पनि
जिन्दगीभर तिम्रो मनमा हाँसोखुसी भर्छु भन्छ।

Sunday, December 18, 2011

''गजल''

सुबास श्रेष्ठ

घायलको तरही मुसायरा भाग-२८

तिमी रैछौ चारै तिर नाम छा'को मान्छे हजुर
जन्मदैमा ईश्वरबाट वर पा'को मान्छे हजुर।

म त परेँ आफ्नै भाग्य सँग पनि ठगिएको
यात्रा गर्ने बाटोपनि बन्द भा'को मान्छे हजुर।

तिमी मालिक यो ठाउँको म त यौटा पाहुना हुँ
आउँदा नै जाने पनि कसम खा'को मान्छे हजुर।